• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

आज मिति २०८१ साल वैशाख महिनाको १४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. दीपेश पुन फेरि पक्राउ 

 पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश फेरि पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्रको आधारमा शुक्रबार फेरि पक्राउ गरेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुष्टि गरे । ६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाले पुन  छानबिनको दायरामा रहेको बताइएको छ ।

२. सुन बरामद

प्रहरीले काठमाडौँको न्युरोडबाट बरामद एक किलो ८ सय ग्राम सुन र डेढ करोड रकमसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद सुन र रकमसहित पक्राउ परेकाहरूलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

३. पक्राउ परेकालाई छुटाउन लागे मिश्र

राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको घटनामा एक जना पक्राउ परेपछि पार्टीकै शीर्ष नेताहरूले उनको रिहाइका लागि दौडधुप बढाएका छन् ।

प्रहरीले बिहीबार कालिकोटको तलाताँ गाउँपालिका वडा नम्बर घर भई हाल काठमाडौँको निलोपुल बस्ने ३१ वर्षीय निराजन बमलाई पक्राउ पक्राउ गरेर हिरासतमा राखेको थियो । लगत्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरू रिहाइको माग गर्दै प्रहरी कार्यालयमा धाउन थालेका हुन् ।

४. रेशमको मुद्दामा मिसिल झिकाउन आदेश

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।

रेशमले दायर गरेको मुद्दामाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

५. माधव नेपालको चेतावनी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गरे । उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

६ बढ्दो आगलागीका घटना

पछिल्लो एक सातामा देशका १ हजार स्थानका जङ्गलमा डढेलो लागेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछल्लो तथ्याङ्क हेर्ने हो भने देशव्यापी भयावह रुपमा डढेलो लागेको छ । सानातिना वनदेखि ठुला राष्ट्रिय निकुञ्जहरूमा समेत डढेलो लाग्दा वनस्पति र वन्यजन्तु आगोको चपेटामा परेका छन् ।

७. जसपामा चटारोे

जनता समाजवादी पार्टी (जसपा) नेपाल महाधिवेशनको तयारीमा जुटिरहेको छ । जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा हुने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनका लागि प्रक्रिया सुरु गरेको छ । त्यसका लागि पार्टीको सङ्गठित सदस्य सङ्ख्या टुङ्गो लगाएको छ ।

८. गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका छन् ।

शुक्रवार राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक बाटोमा रहेकाले मुलुकको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका हुन् ।

९. कतारमा नेपाली अलपत्र

कतारस्थित अल जावर पार्टनर्स कम्पनीमा कार्यरत ६२५ जना नेपाली कामदार अलपत्र परेका छन्। कम्पनीले ५ महिनासम्मको तलब नदिएपछि आफूहरू अलपत्र परेको उनीहरूको भनाइ छ ।

१०. यो पनि...

महोत्तरीको एकडारा गाउँपालिकाकाकी वर्तमान उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउनेगरी अभियान सफल बनाउन निर्देशन दिएका छन् । शुक्रबार काठमाडौँमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल प्रहरीका  एसएसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन्  । यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र (रोष्टर) परिवर्तन गर्न पाउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

थप समाचार लिंक

Adblock test (Why?)